नारायणी माध्यमिक विद्यालय – एक शब्द चित्र

नारायणी माध्यमिक विद्यालय, काठेखोला गाउँपालिका वडा नं. ४ ठुलाेगाउँ, तंग्राम शिक्षा क्षेत्रमा यस भाैगाेलिक क्षेत्रकै पहिलाे सुसंगठित संस्था हाे । नेपाल सरकारबाट सामुदायिक विद्यालय अन्तर्गत सुचीकृत यो विद्यालय २०१७ सालमा तंग्राम प्राइमरी विद्यालयको नाममा स्थापित भएकाे थियाे। २०२६ सालमा नि.मा.वि तह(६–८), २०५२ सालमा मा.वि. तह (९–१०) र २०६६ सालमा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदबाट अस्थायी स्वीकृति प्राप्त उच्च माध्यमिक तह (११–१२) सञ्चालन गर्दै याे विद्यालयले स्तराेन्न्ति गर्दै आएको छ । हाल नारायणी माध्यमिक विद्यालयको नामबाट कक्षा १ देखि कक्षा १२ सम्मको कक्षा सञ्चालन गर्दै आएको छ ।

भौतिक अवश्था

यो विद्यालयमा हालसम्म छुट्टै रहेको १ वटा र सँगै जोडिएको २ वटा भवन सहित ३ वटा भवन रहेको छ । जसमा कुल २० वटा कोठाहरु रहेका छन् । एकवटा शौचालय र एकवटा धारा विद्यालयको कम्पाउण्डमा अवस्थित रहेका छन । विद्यालयमा प्राेजेक्टर र स्मार्ट टिभी सहित एकवटा सुविधा सम्पन्न कम्प्युटर प्रयाेगशाला र पुस्तकालय रहेको छ ।

शिक्षक दरबन्दी

यस विद्यालयमा नेपाल सरकारबाट अनुदान प्राप्त गर्ने गरी कुल १४ वटा शिक्षक दरबन्दी रहेको छ । ५ जना प्राथमिक शिक्षक र ४ जना निमावि शिक्षक गरी आधारभूत तहमा ९ जना शिक्षकको स्थायी दरबन्दी रहेको छ भने मावि तह (९–१०) मा ५ जना राहत शिक्षकको दरबन्दी रहेको छ । विद्यालयको आर्थिक तथा प्रशाशनिक क्रियाकलापको लागि नेपाल सरकारबाट तलब अनुदान खाने गरी एक जना विद्यालय कर्मचारी र १ जना विद्यालय सहयोगीको दरबन्दी पनि रहेको छ । विद्यालयको आवश्यकतालाई थेग्न नसकेको कारण विद्यालयले आन्तरिक स्रोतबाट तलब खाने गरी थप ३ जना शिक्षकको व्यवस्था पनि गरेको छ ।

शैक्षिक तथा शैक्षणिक कार्यक्रम

विद्यालय बिहान निर्धारित १० बजेदेखि शुरु भएर अपरान्ह ४ बजेसम्म सञ्चालन हुने गर्दछ । कक्षाको माध्यम अंग्रेजी र गणित तथा अतिरिक्त गणित अंग्रेजी भाषाको माध्यमबाट पढाइने गरिन्छ भने अन्य विषयहरु नेपाली भाषाको माध्यमबाट पढाइने गरिन्छ । कक्षा ११ र १२ मा व्यवस्थापन समूह र शिक्षा समूहका कक्षाहरु सञ्चालन गरिन्छ । आवश्यक मात्रामा अडियो भिडियो सामग्रीहरुद्वारा शिक्षण गर्ने गरिन्छ । पाक्षिक रुपमा विद्यालयमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने गरिन्छ । एस.इ.इ. परीक्षा दिने विद्यार्थीहरुलाई मध्यनजर गरी दुइ महिना जति आवासीय कक्षा सञ्चालन गर्ने गरिन्छ । हरेक वर्ष कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाइ विभिन्न शैक्षिक, साँस्कृतिक तथा पुरातात्विक स्थानकाे भ्रमण लैजाने गरिन्छ ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd